धनगढी, मंसिर १६। स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा ५७ प्रतिशत मत खसेको छ ।
प्रदेशमा एक उपाध्यक्ष र चार वडाध्यक्षको लागि भएको निर्वाचनमा जमा ९ हजार ७८८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । उनका अनुसार उपनिर्वाचन भएका विभिन्न पाँच स्थानमा जम्मा मतदाता संख्या १७ हजार ३१३ हो ।
बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उपाध्यक्षलागि ७ हजार ४६० मतदाता मध्ये ३ हजार ९०३ जनाले मतदान गरेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदाता मध्ये २ हजार ९९२, दार्चुलाको दुहु गाउँपालिका–५ मा १ हजार २७२ मध्ये ८७७, डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा १ हजार ५९३ मध्ये ८३९ र बझाङको सुर्मा गाउँपालिका–४ मा १ हजार ५५४ मध्ये १ हजार १७८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भट्टले जानकारी दिए ।
कुल मतदाताको अवस्था अनुसार सबैभन्दा धेरै बझाङमा र थोरै बाजुरामा मत खसेको छ । बाजुरामा ५२ प्रतिशतले मतदान गर्दा बझाङमा ७६ प्रतिशतले मतदान गरेका छन् ।
डोटीमा ५३, दार्चुलामा ६९ र कञ्चनपुरमा ५५ प्रतिशतले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
बिहान ७ बजेदेखि सबै ठाउँमा ५ बजेसम्म मतदान भएको थियो ।
बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उपाध्यक्षलागि तीन जना महिला उम्मेदवार छन्। नेपाली काङ्ग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी चुनावी मैदानमा छिन् ।
यस्तै बझाङको सुर्मा गाउँपालिका–४ मा एमालेबाट लखीचन्द्र बोहरा, काङ्ग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहरा गरी तीन जना उम्मेदवार छन्।
डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा एमालेबाट देवबहादुर थापा, काङ्ग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का उम्मेदवार छन् ।
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा एमालेबाट मानसिंह बडाल, काङ्ग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट विरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार छन् ।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार छन् ।
एमालेबाट बहादुर चन्द, काङ्ग्रेसबाट प्रकाश चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट शुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिस डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाटै थानेश्वर लेखक उम्मेदवार हुन् ।



