काठमाडौं, मंसिर १६ । यू–१९ एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ ।
आइतबार भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
सामान्य लक्ष्य पछ्याएको बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । श्रीलंकापछि लगातार बंगलादेशसँग पनि पराजित भएपछि नेपालको अर्को चरणमा पुग्ने सम्भावना सकिएको छ ।
समूह बीमा नेपालले अब अफगानिस्तानसँग अन्तिम खेल खेल्नेछ । नेपालको लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए ।
उत्तम मगर र अभिषेक तिवारीले २९/२९ रन बनाए । यी तीनबाहेकका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि युवराज खत्रीले ४ विकेट लिएका थिए ।
बंगलादेशका लागि ओपनर जबार अबाररले सवौधिक ५९ रन बनाए । उनले ६५ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए । अर्का ओपनर कलिम एलेन रनको खाता नै नखोली नेपाली कप्तान हेमन्त धामीको बलमा आउट भए ।
कप्तान मोहम्मद हाकिम तमिमले ७१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ५२ तथा मोहम्मद फरिदले ३१ बलमा १३ रन जोडे । नेपालका लागि युवराज खत्रीले ४ तथा कप्तान हेमन्तले १ विकेट लिए ।
एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।



