दार्चुला जिप दुर्घटना : गम्भीर घाइते तीन जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयो

भर्खरै

धनगढी, कात्तिक ३० । दार्चुलाको शैलेश्वरीमा आज (शुक्रबार) बिहान भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको छ ।

गम्भीर घाइते भएका जिप चालक दार्चुलाको मालिकार्जुन नगरपालिका –५ का सुनिल जोशी, जिपमा सवार बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का उत्तम रोकाया र शैल्यशिखर नगरपालिका वडा नम्ब्र ५ का सन्दीप रावललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो ।

दार्चुला प्रहरीका अनुसार चालक जोशीको टाउको चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ । त्यसैगरी रावल र रोकायाको पनि टाउकोमा चोट लागेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते भएका २२ वर्षीय प्रकाश रावल र भारतका रोहिन शाहको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको मालिकार्जुन मन्दिरको जात्राबाट फर्किने दर्शनार्थी बोकेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–६ ग्वानीमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालका अनुसार जिप दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलीप बिष्ट र ४० वर्षीया मिना लेखक, शैल्यशिखरकै वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका–५ का ५० वर्षीय वीरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजीव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिलको मृत्यु भएको छ ।

मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किदै गर्दा घर नपुग्दै आठ जना जिप दुर्घटनामा परी मृत्यु भएपछि दार्चुलावासी स्तब्ध भएका छन् ।