सलमान खानलाई धम्की दिने पक्राउ, जो झारखण्डमा तरकारी बेच्थे

भर्खरै

मुम्बई । सलमान खानलाई धम्की दिएर ५ करोड भारतीय रुपैयाँ माग्ने व्यक्ति पक्राउ परेका छन् ।

मुम्बईको वर्ली प्रहरीले २४ वर्षीय शेख हुसेन शेख मौसिन झारखण्डको जमशेदपुरबाट बुधबार पक्राउ गरेको हो ।

उनलाई आज झारखण्डबाट ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याइएको छ ।

जमशेदपुरका तरकारी विक्रेता रहेका शेखले गत हप्ता मुम्बई ट्राफिक प्रहरीलाई ह्वाट्सएप कल गरेर आफूलाई लरेन्स गिरोहको सदस्य भएको भन्दै फिरौती मागेका थिए।

मुम्बईका एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार म्यासेज पठाउने व्यक्तिको खोजी गर्न तत्कालै अनुसन्धान थालिएको थियो ।

मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो– ‘यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुस्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।’

गत १२ अक्टोबरमा सलमानका निकटतम मित्र तथा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको थियो । यो हत्याको जिम्मेवारी लरेन्स गिरोहले लिएको थियो ।

लरेन्स गिरोहले सलमान खानलाई पनि धेरै वर्षदेखि मार्ने धम्की दिइरहेको छ । बाबा सिद्दिकीको हत्यापछि सलमानको सुरक्षा पनि बढाइएको छ ।