रसुवा बाढीपछि सम्पर्कविहीन सुदूरपश्चिमका २८ जना सम्पर्कमा, अझै १४२ जना बेपत्ता

भर्खरै

धनगढी, १३ भदौ/
रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका २८ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्।
प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार सम्पर्कमा आउनेमा कैलालीका १८ जना, कञ्चनपुरका ९ जना र डडेल्धुराका १ जना रहेका छन्। उनीहरू सुरक्षित अवस्थामा रहेको प्रहरीले जनाएको छ। केही घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।
बाढीपछि सुदूरपश्चिमबाट ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका थिए। विभिन्न माध्यमबाट खोजी तथा सम्पर्कको प्रयास भइरहेका बेला २८ जना परिवारको सम्पर्कमा आएका हुन्।
सुदूरपश्चिमका अझै १४२ जना सम्पर्कविहीन रहेको एसएसपी विष्टले बताए। उनीहरू विभिन्न जिल्लाका नागरिक रहेको प्रहरीले जनाएको छ।