धनगढी, १३ भदौ/रसुवा जिल्लामा आएको भोटेकोशी बाढीसम्बन्धी नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजेसम्मको पछिल्लो विवरण सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार बाढीमा परी हालसम्म ६२६ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ जना रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा ८ हजार ८५४ जना प्रहरी परिचालन गरिएको छ। उद्धार तथा खोजी कार्यका क्रममा २ हजार ३०१ जना घाइते तथा उद्धार गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, रसुवामा ६७६, नुवाकोटमा १ हजार ६२२ र धादिङमा ३ जना गरी कुल २ हजार ३०१ जना घाइते तथा उद्धार गरिएकामध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १४० रहेको विवरणमा उल्लेख छ।
बाढीका क्रममा २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। खोज तथा उद्धार कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ ।



