बडीकेदारमा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, एक घाइते

भर्खरै

धनगढी, २५ चैत/डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । जनजागरण सामुदायिक वनमा सडेगलेका काठ संकलन गरेर नजिकै सेलानेको खोलामा घाटमा गद्दी गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सवारी अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो ।
गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको र सोही ट्रकमा सवार रहेका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बडीकेदार गाउँपालिका–३ का वडा सदस्य प्रकाश लामाले जानकारी दिए । ट्रक चालक बडिकेदार गाउँपालिका–२ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।