धनगढी, २० चैत/विश्व ‘अटिजम’ जागरूकता दिवस आज धनगढीमा मनाइएको छ । १८ औं विश्व ‘अटिजम’ दिवसको अवसरमा धनगढीमा प्रभातफेरीको आयोजना गर्दै मनाइएको हो। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आहवानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । सामाजिक विकास मन्त्रालयको समन्वय, अपाङ्गता अधिकार कोषको सहकार्य तथा राष्ट्रिय अटिजम केयर सोसाइटी नेपाल धनगढीको आयोजनामा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।सामाजिक विकास मन्त्री मेघराज खड्का, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेल, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार, अधिकारकर्मी सहितको सहभागितामा सामाजिक विकास मन्त्रालयदेखि सुरु भएको प्रभातफेरी शिवनगरसम्म पुगेको थियो ।शिवनगरमा रहेको राष्ट्रिय अटिजम केयर सोसाइटी नेपालको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का बोल्दै अटिजम भएकाहरु कति छन् सही तथ्यांक निकाल्नुपर्ने र त्यसका लागि वृहत रुपमा स्क्रेनिङ्ग गर्नुपर्ने बताउनुभयो । पहिलो चरणमा स्क्रेनिङ्ग गरेर अटिजमका विरामी पत्ता लगाएर दोश्रो चरणमा अवस्था सुधारका लागि लाग्नुपर्ने बताउनुभयो । मन्त्री खड्काले अटिजमको क्षेत्रमा प्रदेश सरकार लाग्ने बताउनुभयो ।प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेलले पछिल्लो जनगणनाले नेपालमा ५ हजार अटिजमका बिरामी भएको देखाएपनि डब्लु एच ओ लाई आधार मान्ने हो नेपालमा ३ लाखको संख्यामा अटिजमका बिरामी हुनसक्ने बताउनुभयो । अपाङ्गताभित्र धेरै क्षेत्र भएको र त्यो भित्र अटिजम पनि एक क्षेत्र भएको बताउँदै प्रमुख सचिव पोख्रेलले नेपालमा ६ लाख बढी अपाङ्गता भएका र ५ हजार अटिजम भएकाहरु भएपनि डब्लु एच ओ का अनुसार प्रत्येक एक सय जनामा एक जना कुनै न कुनै प्रकारको अटिजम हुने उल्लेख भएको हुँदा त्यसलाई आधार मान्ने हो भने नेपालमा करिव ३ लाख अटिजम भएकाहरु हुनुपर्छ ।राष्ट्रिय अटिजम केयर सोसाइटी नेपाल धनगढीका अध्यक्ष रमेशकुमार बस्नेतले सुदूरपश्चिममा ६९३ जना अटिजम भएकाहरु रहेको बताउँनुभयो । उहाँले अटिजम भएका विशेषगरी मस्तिष्क घात भएकाहरु स्क्रेनिङ्गका लागि बैशाख ४ गतेदेखि ६ गतेसम्म शिविर सञ्चालन हुने बताउनुभयो ।अटिजम जन्मजात हुने एक विशेष खालको समस्या हो । अटिजमका लक्षण जन्मिएको तीन वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिन्छ । झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाहरुले अरुलाई वास्ता नगर्ने हुन्छन् । अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ । समयमा नै उपचार गराउन सके उनीहरुको वृत्तिविकासमा सहयोग पुग्ने चिकित्सकहरु बताउँछन् । अटिजम भएका व्यक्तीहरुलाई सामाजिक रुपमा घुलमिल हुन, सञ्चारको बिचलन, कल्पना शक्ति कम हुने र व्यवहार गर्नमा कठिनाई, खेलहरु खेल्न नजान्ने जस्ता समस्याहरु देखापर्छन् ।
भाग–१



