पहारगन्जमा सेक्स –याकेट : १० नेपालीसहित २३ जनाको उद्धार, आरोपमा ७ जना पक्राउ

भर्खरै

नयाँ दिल्ली, ११ चैत/दिल्ली प्रहरीले पहारगन्ज क्षेत्रमा सञ्चालन भइरहेको सेक्स र्‍याकेट पत्ता लगाएर २३ जना महिलाको उद्धार गर्न सफल भएको छ । यसमा ३ जना नाबालिग र १० जना नेपाली नागरिक रहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको हो । प्रहरीले मानव तस्करीमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय नुरसेद आलम, २२ वर्षीय मोहम्मद राहुल आलम, ३० वर्षीय अब्दुल मनान, तौसिफ रेक्सा, २९ वर्षीय समिम आलम, २६ वर्षीय मोहम्मद जरुल र मोनिष रहेका छन् ।
यो संयुक्त कारबाही पहारगन्ज प्रहरी थाना, सारदानन्द मार्ग प्रहरी थाना र हिम्मतगढ प्रहरी थानाले चलाएको थियो । ‘आरोपीहरूले नेपालसहित पश्चिम बंगाल र भारतका अन्य राज्यबाट महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर ल्याउने र देहव्यापारमा लगाउने गरेको पाइएको छ,’ एक प्रहरी अधिकारीले भने । उनीहरूलाई पहारगन्जको एउटा कोठामा राखिएको थियो । त्यहाँबाट उनीहरूलाई विभिन्न होटलहरुमा पठाउने गरिन्थ्यो । प्रहरीले छापा मार्नअघि सो क्षेत्रको रेकी गरेको थियो भने प्रहरीलाई नै नक्कली ग्राहक बनाएर पठाएको थियो ।