धनगढीमा एनसेलको पहिलो ‘फोफो’ सेन्टर सञ्चालनमा, ग्राहकले एकै ठाउँबाट सबै सेवा पाउने

भर्खरै

धनगढी, ६ साउन/एनसेलले ‘फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो)’ अवधारणाअन्तर्गत धनगढीमा आफ्नो पहिलो एनसेल फ्रान्चाइज सेन्टर सञ्चालनमा ल्याएको छ। ‘लोकल्ली ओन्ड, पावर्ड बाइ एनसेल’ थिममा सुरु गरिएको उक्त सेन्टरबाट ग्राहकहरूले एनसेलका सम्पूर्ण सेवा तथा मोबाइल फोन र विभिन्न एसेसरीहरू एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्।
सेन्टरबाट सिम कार्ड परिवर्तन, ई–सिम एक्टिभेसन, केवाईसी अपडेट, बिल भुक्तानी, नयाँ सिम वितरण तथा अन्य सम्पूर्ण ग्राहक सेवाहरू उपलब्ध हुनेछन्।
बुधबार आयोजित विशेष समारोहमा एनसेलकी कर्पोरेट कम्युनिकेसन, ब्राण्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्का तथा कस्टमर सर्भिस अपरेशन डाइरेक्टर ज्योति दाहालले संयुक्त रूपमा सेन्टरको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुभाष शाही, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवर, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका तीर्थराज पन्त, माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र साउँदलगायत उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कस्टमर सर्भिस अपरेशन डाइरेक्टर ज्योति दाहालले एनसेलको पहिलो फोफो स्टोरले देशभर सेवा पहुँच विस्तार, स्थानीय साझेदारसँगको सहकार्य सुदृढ गर्ने तथा ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने कम्पनीको प्रतिबद्धता झल्काएको बताइन्।
त्यस्तै, कर्पोरेट कम्युनिकेसन, ब्राण्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले नयाँ अवधारणाको सेन्टरमार्फत ग्राहकलाई थप सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने तथा स्थानीय व्यवसायीसँगको साझेदारीलाई थप मजबुत बनाउने लक्ष्य रहेको जानकारी दिइन्।

एनसेलका अनुसार आगामी दिनमा देशका अन्य स्थानमा पनि यस्तै फोफो सेन्टर विस्तार गरिनेछ। यसबाट ग्राहकले एकै स्थानबाट सबै सेवा प्राप्त गर्ने सुविधा पाउनुका साथै स्थानीय व्यवसायलाई समेत प्रवर्द्धन हुने कम्पनीको विश्वास छ। साथै, एनसेल एप केन्द्रित नयाँ योजना, अफर तथा सेवासम्बन्धी जानकारी पनि ग्राहकले आफ्नै नजिकको फ्रान्चाइज सेन्टरबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन्।