धनगढी, ४ साउन/धनगढीस्थित जेपी क्लासिक इन्टरनेशनलले लगातार दोस्रो वर्ष राष्ट्रिय स्तरको ‘उत्कृष्ट डिलर अवार्ड’ प्राप्त गर्दै आफ्नो व्यावसायिक उत्कृष्टतालाई पुनः स्थापित गरेको छ।
पुर्वाञ्चल लुब्रीकेन्टद्वारा विराटनगरमा आयोजित २७ औँ डिलर कन्फ्रेन्समा देशभरका डिलरमध्ये सर्वाधिक कारोबार गर्ने डिलरका रूपमा जेपी क्लासिक इन्टरनेशनलका सञ्चालक हरिशंकर ठाकुर र उनकी धर्मपत्नी मधु पाठक ठाकुर सम्मानित भएका हुन्।
कार्यक्रममा पुर्वाञ्चल लुब्रीकेन्टका सञ्चालक भोलेश्वर दुलाल तथा प्रमुख अतिथि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले संयुक्त रूपमा प्रमाणपत्र, मेडल तथा नगद २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै सम्मान गरेका थिए।
सम्मान ग्रहणपछि सञ्चालक ठाकुरले यो उपलब्धि आफ्नो व्यक्तिगत सफलता नभई कम्पनी, ग्राहक, कर्मचारी, व्यवसायिक साझेदार तथा परिवारको साझा मेहनत र विश्वासको प्रतिफल भएको बताए।
उनले भने, “लगातार दोस्रो वर्ष देशकै उत्कृष्ट डिलरका रूपमा सम्मानित हुनु हाम्रो लागि गौरवको विषय हो। यो सम्मान सम्पूर्ण ग्राहक, कर्मचारी, व्यवसायिक साझेदार र परिवारको साथ तथा विश्वासका कारण सम्भव भएको हो। आगामी दिनमा पनि गुणस्तरीय सेवा, विश्वास र इमानदार व्यवसायमार्फत ग्राहकको भरोसा अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
ठाकुर समूहले धनगढी र काठमाडौंमा अटोमोबाइल व्यवसायसँगै खाद्यान्न, जडीबुटी लगायत विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ। गुणस्तरीय सेवा, व्यावसायिक विश्वसनीयता र ग्राहकमैत्री कार्यशैलीका कारण समूहले सुदूरपश्चिमको निजी क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
लगातार दुई वर्षसम्म राष्ट्रिय स्तरको ‘उत्कृष्ट डिलर अवार्ड’ जित्न सफल भएपछि जेपी क्लासिक इन्टरनेशनलको प्रतिष्ठा अझ सुदृढ बनेको कम्पनीले जनाएको छ।



