नेपाली सेनाको सहयोगमा शिव–गौरी धाममा विशेष सरसफाइ, साउन ९ गते साधारण सभा हुने

भर्खरै

धनगढी, ३ साउन/धनगढी उपमहानगरपालिका–४, भगवती टोलस्थित शिव–गौरी धाम परिसरमा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ।
शिव–गौरी धाम संरक्षण समाजको आयोजनामा तथा श्री देवी दल गण, व्यारेक, कैलालीको विशेष सहयोगमा सम्पन्न सरसफाइ कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीयवासी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभियानमा भगवती टोल संस्था, नमस्ते युथ क्लब, भगवती चेतनशील आमा समूह, पतञ्जलि योग समूह, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका प्रशिक्षार्थी तथा स्थानीय समाजसेवीहरूले श्रमदान गर्दै धाम परिसरको सरसफाइ, फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा योगदान दिएका थिए।
सहभागीहरूले धार्मिक तथा सार्वजनिक स्थलको स्वच्छता कायम राख्दै वातावरण संरक्षण र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सरसफाइ गरिएको बताएका छन्। यस अभियानले स्थानीय समुदायमा सरसफाइप्रति सकारात्मक चेतना अभिवृद्धि हुने विश्वाससमेत व्यक्त गरिएको छ।
आयोजकका अनुसार धार्मिक तथा सार्वजनिक सम्पदाको संरक्षण, स्वच्छ वातावरणको प्रवर्द्धन तथा समुदायमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
शिव–गौरी धाम संरक्षण समाजका सचिव इन्द्रबहादुर सिंहले समुदायका विभिन्न संघसंस्था, सहयोगी निकाय तथा सहभागीहरूको सक्रिय सहभागिताका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले सरसफाइ अभियानमा विशेष सहयोग पुर्‍याएको श्री देवी दल गण, व्यारेक, कैलालीसहित भगवती टोल संस्था, नमस्ते युथ क्लब, भगवती चेतनशील आमा समूह, पतञ्जलि योग समूह, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका प्रशिक्षार्थी तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्नुभयो।
यसैबीच, सचिव सिंहले साउन ९ गते शिव–गौरी धाम संरक्षण समाजको साधारण सभा आयोजना हुने जानकारी दिँदै सम्पूर्ण सदस्य, स्थानीयवासी, शुभेच्छुक तथा सरोकारवालालाई उपस्थित हुन आग्रह गर्नुभएको छ। साथै धामको संरक्षण, विकास र प्रभावकारी व्यवस्थापनका लागि आजीवन सदस्यता लिएर सहयोग गर्नसमेत अनुरोध गर्नुभएको छ।