ट्राफिक प्रहरीले दुःख दियो? क्यूआर स्क्यान गरेर गुनासो गर्नुस्, कारबाही गर्छौं : एसपी नवराज कार्की

भर्खरै

धनगढी, २५ असार/नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले कुनै पनि ट्राफिक प्रहरीले अनावश्यक दुःख, हैरानी दिएको भए निर्धक्क भएर गुनासो गर्न आग्रह गरेका छन्।
कैलालीमा सञ्चालन हुने सार्वजनिक यातायातका चालक, सहचालक तथा परिचालकलाई पहिचानसहितको पोशाक (जर्सी) वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले सार्वजनिक यातायातमा राखिएको क्यूआर कोड मार्फत ट्राफिक प्रहरीको व्यवहारदेखि यात्रुले भोगेका अन्य समस्यासमेत गुनासो गर्न सकिने जानकारी दिए।
उनले सडकमा दलाल, बिचौलिया वा अन्य व्यक्तिबाट अनावश्यक भाडा असुल्ने, यात्रुलाई गलत गन्तव्यमा पठाउने वा अन्य कुनै प्रकारको दुःख, हैरानी भए तत्काल जानकारी गराउन आग्रह गर्दै प्राप्त गुनासोमाथि आवश्यक छानबिन गरी कारबाही गरिने बताए।
प्रहरी उपरीक्षक कार्कीले चालक, सहचालक र परिचालकको पहिचान स्पष्ट नहुँदा यात्रुलाई सेवा दिने व्यक्तिलाई चिन्न कठिन हुने समस्या रहेको उल्लेख गर्दै अब जर्सीको प्रयोगले उनीहरूको पहिचान सहज हुने बताए। यसले यात्रुलाई गुनासो वा सुझाव दिन सहज हुनुका साथै सार्वजनिक यातायात सेवा थप व्यवस्थित, सुरक्षित र विश्वासिलो बन्ने उनको भनाइ थियो।


संयुक्त यातायात व्यवस्थापनको आयोजनामा भएको कार्यक्रममा जिल्लाभरका यातायात व्यवसायीको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सुन्दर सुदूरपश्चिम यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डेयले यात्रु सेवाको गुणस्तर सुधार, व्यवसायलाई व्यवस्थित बनाउने र सार्वजनिक यातायातप्रति जनविश्वास बढाउने उद्देश्यले पहिचान पोशाक वितरण गरिएको बताए।
खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले चालक तथा परिचालकको स्पष्ट पहिचानले यात्रु र व्यवसायीबीच विश्वास बढ्ने उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश संयोजक टेकराज जोशीले सार्वजनिक यातायातलाई सुरक्षित, मर्यादित र सेवामुखी बनाउन व्यवसायीहरू स्वयं जिम्मेवार हुनुपर्ने बताए।
कार्यक्रमका सभापति तथा सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले चालक, सहचालक र परिचालकको पहिचान स्पष्ट हुँदा दलाली, ठगी तथा अनधिकृत व्यक्तिको प्रवेश नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा सार्वजनिक यातायातलाई अझ अनुशासित, प्रविधिमैत्री र यात्रुमैत्री बनाउने अभियानलाई निरन्तर अघि बढाइने बताए।
कार्यक्रमको सञ्चालन सुन्दर सुदूरपश्चिम यातायात प्रालिका महासचिव सुरेन्द्र बोहराले गरेका थिए।