धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ प्रतियोगिता हुने

भर्खरै

धनगढी, २४ असार/सुदूरपश्चिम प्रदेशका लोकदोहोरी प्रतिभाको खोजी तथा नेपाली लोकसङ्गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी साउन ८ र ९ गते धनगढीमा प्रतियोगिता आयोजना गर्ने भएको हो। प्रतिष्ठानले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो।
आयोजकका अनुसार प्रतियोगिता एकल लोकदोहोरी गायनमा आधारित हुनेछ। प्रतियोगितामा गायक तथा गायिकाले व्यक्तिगत रूपमा सहभागिता जनाउन सक्नेछन् भने आवश्यक बाद्यवादन र कोरसको व्यवस्था आयोजकले नै गर्नेछ।
प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टले उमेरको कुनै सीमा नराखिएकाले सबै उमेर समूहका इच्छुक कलाकारले प्रतियोगितामा सहभागी हुन सक्ने जानकारी दिए। उनका अनुसार प्रतियोगिताले नयाँ प्रतिभाको पहिचानसँगै लोकदोहोरी क्षेत्रमा सक्रिय कलाकारलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीयलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट प्रतिभा भएर पनि विभिन्न कारणले मुख्य पुरस्कारबाट वञ्चित हुन सक्ने कलाकारलाई प्रोत्साहनस्वरूप विशेष पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष बिष्टले बताए।
प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्षको समेत उपस्थिति रहने जनाइएको छ। साथै सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कलाकारहरूको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकारले एक हजार रुपैयाँ दर्ता शुल्क तिरी परिचय खुल्ने कागजातसहित नाम दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ।
अध्यक्ष बिष्टले लोकदोहोरी साँझहरूले नेपाली लोकगीतको संरक्षण, प्रवर्द्धन तथा कलाकारलाई व्यावसायिक रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै प्रतियोगिताले सुदूरपश्चिमका नयाँ प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुग्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताको मुख्य प्रायोजक इन्द्रेणी दोहोरी साँझ रहेको छ भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलाली र कञ्चनपुर शाखा सहआयोजकका रूपमा रहेका छन्।
पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।