धनगढी, २२ असार/सुदूरपश्चिम प्रदेशमा मनसुनको प्रभाव कायम रहेकाले आज पनि वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने रातिको समयमा तराईका धेरै स्थान र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। वर्षासँगै चट्याङको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



