धनगढीमा १० वर्षीय बालक हत्या प्रकरण : मुख्य अभियुक्त पक्राउ

भर्खरै

धनगढी, २१ असार/धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या प्रकरणमा मुख्य अभियुक्त पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ का खगेन्द्र भनिने २५ वर्षीय खेमराज कठायत रहेका छन्। उनलाई भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी–२ भन्सार रोडबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक सुशील चन्द नेतृत्वको टोलीले कठायतलाई नियन्त्रणमा लिएको हो।
१० असारदेखि घरबाट बेपत्ता भएका तनुज १२ असारमा स्थानीय बालिका सामुदायिक वनभित्र हत्या गरिएको अवस्थामा मृत फेला परेका थिए।
बालकले कानमा लगाएको सुनको मुन्द्रा गायब भएकाले लुटपाटको उद्देश्यले हत्या भएको हुन सक्ने प्रारम्भिक आशंका प्रहरीले गरेको छ। मुख्य अभियुक्त पक्राउ परेकाले घटनाको थप तथ्य खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।
यसअघि अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको भए पनि उनीहरूलाई पछि रिहा गरिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।