धनगढी, १६ असार/सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा आज राति भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि यस्तै वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश तथा बागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
भोलि बुधबार र पर्सी बिहीबार पनि सुदूरपश्चिमसहित देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
लगातार वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।



