धनगढी, १४ असार/विज्ञान, प्रविधि तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका चार जना युवा वैज्ञानिकलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मान गर्नुभएको छ।
प्रदेश युवा परिषद्ले आइतबार धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम–२०८३’ मा मुख्यमन्त्री शाहले सम्मानित वैज्ञानिकहरूलाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभएको हो।
सम्मानित हुनेहरूमा कैलालीको टिकापुरका अरुण लुहार, बाजुराको त्रिवेणीका प्रकाशबहादुर साउँद, धनगढीका इन्द्र ओझा तथा कैलालीको गोदावरीकी बिन्दु पन्त रहेका छन्। यसअघि अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले नवप्रवर्तन क्षेत्रमा सक्रिय युवाहरूलाई सम्मान गर्ने घोषणा गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सूचना तथा प्रविधिको विकासलाई युवासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रदेश सरकारले नवप्रवर्तन, अनुसन्धान र प्रविधिमैत्री वातावरण निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समाज रूपान्तरण र सकारात्मक परिवर्तनका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्रबहादुर साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मधु भारतीलगायत वक्ताहरूले युवाको क्षमता विकास, अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धनका लागि राज्यले थप प्रभावकारी नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।



