धनगढी/प्रभात मिडिया नेटवर्कको आयोजनामा हुने ‘एरिष्टो एसईई आइडल’को पाँचौँ संस्करण आगामी जेठ ७ गते धनगढीमा आयोजना हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका ट्रफी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रभात मिडिया नेटवर्कका अध्यक्ष प्रकाश छेडालले सुदूरपश्चिम प्रदेशका डोटी, अछाम, कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लाबाट छनोट भएका २० जना विद्यार्थी फाइनल प्रतिस्पर्धामा सहभागी हुने जानकारी दिए । उनका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
यस वर्षको संस्करणमा विशेष रूपमा एकल गायन प्रतियोगिता समावेश गरिएको अध्यक्ष छेडालले बताए । उनले ‘एसईई आइडल’ केवल प्रतिस्पर्धा मात्र नभई विद्यार्थीभित्र लुकेर रहेका कला, सिर्जना र आत्मविश्वासलाई राष्ट्रिय स्तरसम्म पुर्याउने अभियानका रूपमा अघि बढाइएको उल्लेख गरे ।
“सुदूरपश्चिमका धेरै विद्यार्थीमा क्षमता र प्रतिभा हुँदाहुँदै पनि उचित मञ्चको अभाव छ,” अध्यक्ष छेडालले भने, “हामीले यही अभावलाई सम्बोधन गर्दै उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर सिर्जना गरेका हौँ ।”
प्रतियोगितामा प्रथम हुने विजेतालाई नगद ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, उपविजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीलाई प्रमाणपत्रसँगै कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको बताइएको छ ।
आयोजकका अनुसार विभिन्न चरणका अडिसन र छनोट प्रक्रिया पार गर्दै उत्कृष्ट २० जना विद्यार्थीलाई फाइनलका लागि चयन गरिएको हो । प्रतियोगितामा विद्यार्थीहरूको गायन क्षमता, प्रस्तुति कला, आत्मविश्वास र समग्र प्रदर्शनलाई मूल्यांकन गरिनेछ ।
प्रतियोगिताका मुख्य प्रायोजक धनगढीस्थित ‘एरिष्टो इङ्लिस बोर्डिङ स्कुल’ रहेको छ । स्कुलका प्लस टु निर्देशक वीरसिंह भण्डारीले शिक्षासँगै अतिरिक्त प्रतिभा विकासका कार्यक्रमलाई विद्यालयले प्राथमिकतामा राख्दै आएको बताए । उनले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
पछिल्ला वर्षहरूमा ‘एसईई आइडल’ सुदूरपश्चिमका विद्यार्थीमाझ लोकप्रिय कार्यक्रमका रूपमा स्थापित हुँदै गएको आयोजकको दाबी छ । प्रतियोगितामार्फत ग्रामीण क्षेत्रका विद्यार्थीले समेत आफ्नो प्रतिभा सार्वजनिक मञ्चमा प्रस्तुत गर्ने अवसर पाएका छन् । आयोजकले यस वर्षको संस्करण अझ भव्य र प्रतिस्पर्धात्मक हुने जनाएको छ ।



