सुदूरपश्चिममा हावाहुरी, असिना र चट्याङ्गको जोखिम, सतर्क रहन आग्रह

भर्खरै

धनगढी/पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई जिल्लामा हावाहुरी, असिना र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले प्रदेशका केही क्षेत्रमा मौसम बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको हो।
महाशाखाका अनुसार आज दिउँसोदेखि रातिसम्म सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। तराईका केही जिल्लामा हावाहुरी र असिनापानीको जोखिमसमेत रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
देशभर कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि मौसम बदलीको प्रभाव देखिएको छ। हिमाली तथा पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।