चैतन्य पाठशालाद्वारा कक्षा ११ का लागि विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक

भर्खरै

धनगढी/धनगढी उपमहानगरपालिका–५, शिवनगरमा रहेको चैतन्य पाठशालाले कक्षा ११ मा अध्ययन गर्न चाहने एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ।
शिक्षासँगै संस्कार, विज्ञान, प्रविधि र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको “चैतन्य पाठशाला” ले पत्रकार सम्मेलनमार्फत यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएका तथा विभिन्न क्षेत्रमा क्षमता प्रदर्शन गरेका विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरिने भएको हो। विद्यालयले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै प्रतिभावान तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको जनाएको छ ।
विद्यालयका प्रवन्ध निर्देशक गणेशप्रसाद जोशीका अनुसार प्रवेश परीक्षाको आधारमा २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनेछ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट दुई–दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ।
यसैगरी “अपि प्रोजेक्ट” अन्तर्गत एक जना छात्र र एक जना छात्रालाई व्यवस्थापन संकायमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ। हाल विद्यालयमा विज्ञान, व्यवस्थापन, कम्प्युटर तथा होटल म्यानेजमेन्ट संकाय सञ्चालनमा रहेका छन्।
विद्यालयले छात्रवृत्ति छनोटका लागि एसईई नतिजा, प्रवेश परीक्षा तथा अन्तर्वार्तालाई मुख्य आधार बनाउने जनाएको छ। साथै खेलकुद, विज्ञान, कला, संगीत, नृत्य, नेतृत्व विकास, वक्तृत्वकला तथा उद्यमशीलताजस्ता क्षेत्रमा जिल्ला वा राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ।
विद्यालयले आधुनिक कम्प्युटर प्रयोगशाला, व्यवस्थित पुस्तकालय, अनुशासित शैक्षिक वातावरण, जीवनोपयोगी शिक्षामा जोड, दक्ष तथा समर्पित शिक्षकद्वारा अध्यापन, प्रविधिमैत्री कक्षा, स्मार्ट बोर्ड, स्केटिङ पार्क, स्विमिङ पुल तथा फुटसललगायत पूर्वाधारलाई आफ्नो विशेषताका रूपमा प्रस्तुत गरेको छ।
विद्यालयका अनुसार छात्रवृत्ति फारम वितरणको अन्तिम मिति २०८३ जेठ २१ गतेसम्म तोकिएको छ भने आवेदन दिने अन्तिम मिति जेठ ०५ गते रहेको छ। छात्रवृत्ति परीक्षा जेठ ०७ गते बिहान ११ बजे सञ्चालन हुने जनाइएको छ।
आवेदन दिन इच्छुक विद्यार्थीले निवेदन पत्र, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, एसईई नतिजा वा मार्कसिट, सम्बन्धित उपलब्धिको प्रमाणपत्र तथा दुई प्रति पासपोर्ट साइज फोटो पेश गर्नुपर्ने विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका अनुसार प्राप्त आवेदनहरूको मूल्यांकनपछि लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत छात्रवृत्ति छनोट प्रक्रिया अगाडि बढाइनेछ ।