काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको अन्तिम प्राविधिक काम भइरहेको छ भने साँझ ५ बजेपछि बोर्ड बैठक बोलाइएको छ । बैठकपछि नतिजा सार्वजनिक गरिने तयारी गरिएको जनाइएको छ ।
‘सम्भवत: आज साँझ नै नतिजा सार्वजनिक हुन्छ, अहिले प्राविधिक काम भइरहेको छ,’ परीक्षा बोर्डका एक अधिकारीले बताएका छन् ।
बोर्डले बैठकमा सहभागी हुन सदस्यहरूलाई समेत जानकारी गराइसकेको छ ।
परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल ले पनि नतिजा प्रकाशनबारे छलफल भइरहेको बताएका छन् ।
यसवर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले अघिल्ला वर्षभन्दा छिटो नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ ।
यसवर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएका थिए ।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।



