बुढीतोलालाई पर्यटकीय गन्तव्य बनाउन पाँच बुँदे माग, सचिव कोइरालालाई ५ किलोको मालाले सम्मान

भर्खरै

धनगढी/कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोला क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयले सुदूरपश्चिम प्रदेश सरकारसमक्ष पाँच बुँदे माग अघि सारेका छन् ।
‘बुढीतोला पर्यटन महोत्सव–२०८३’ को समापन समारोहमा आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिले प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालालाई पाँच किलोको मालाले सम्मान गर्दै मागपत्र हस्तान्तरण गरेको हो ।
समितिले बुढीतोलालाई प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।
समितिद्वारा प्रस्तुत मागपत्रमा बुढीतोलालाई हरियाली तथा आकर्षक पर्यटकीय गन्तव्य बनाउन सडक दायाँबायाँ फूल रोपण तथा वृक्षारोपण कार्यक्रम सञ्चालनका लागि करिब ५० लाख रुपैयाँ बजेट विनियोजन गर्न माग गरिएको छ ।
त्यसैगरी, साहसिक पर्यटन प्रवर्द्धनका लागि बन्जी जम्प सञ्चालनको सम्भाव्यता अध्ययन सुरु गर्नुपर्ने, सामुदायिक वनभित्र पर्यापर्यटन कार्यक्रम सञ्चालन तथा चिसापानी पिकनिक पार्क स्तरोन्नतिका लागि बजेट र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ ।
समितिले बुढीतोला क्षेत्रलाई सुदूरपश्चिमकै नमुना पर्यटकीय गन्तव्य घोषणा गर्दै सहस्रधारासम्म पहुँच मार्ग निर्माण तथा सहस्रधाराबाट कम्पासे धुरा जोड्ने पदमार्ग निर्माण गर्न समेत आग्रह गरेको छ ।
यस्तै, “प्रत्येक घर होमस्टे” अवधारणाअन्तर्गत स्थानीयलाई तालिम, अनुदान र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरी रोजगारी सिर्जना र संस्कृति संरक्षणमा जोड दिनुपर्ने मागपत्रमा उल्लेख छ ।
समितिका संयोजक हरिदत्त भट्टाईद्वारा हस्ताक्षरित पत्रमा बुढीतोला क्षेत्रको पर्यटन विकासले स्थानीय आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।