धनगढी/कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारीको अध्यक्ष पदका उम्मेदवार केशवराज मिश्र समूहले आफ्नो चुनावी प्यानल सार्वजनिक गरेको छ ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत मिश्र समूहले आगामी जेठमा हुने साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।
अध्यक्षका उम्मेदवार मिश्रले सहकारीमा दुई कार्यकाल कार्यसमिति सदस्य तथा एक कार्यकाल सल्लाहकारको अनुभव रहेको बताएका छन् । मिश्र प्यानलबाट उपाध्यक्षमा उपेन्द्र बिष्ट उम्मेदवार रहेका छन् ।
यस्तै, सदस्य पदमा गिरीराज भण्डारी, नरेन्द्रराज अवस्थी, भेषबहादुर बम, योगेन्द्र मल्ल, राजेन्द्रप्रसाद जोशी, सुरजबहादुर रैका र हिक्मतबहादुर कुँवर उम्मेदवार बनेका छन् ।
लेखा सुपरीवेक्षक समितिको संयोजकमा चेतराज जोशी तथा सदस्यमा टेकराज जोशी र दिलिप रोक्का क्षेत्री उम्मेदवार रहेका छन् ।
पत्रकार सम्मेलनमा मिश्र समूहले ‘सहकारी बचतकर्ताको भविष्य हो, सञ्चालक र तिनका परिवारको पेवा होइन’ भन्ने नारासहित १६ बुँदे प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेको छ ।
प्रतिबद्धतापत्रमा सहकारी शिक्षा र सदस्य सचेतना अभिवृद्धि, खराब कर्जा व्यवस्थापन, पारदर्शी कर्मचारी भर्ना प्रक्रिया, श्वेतपत्र जारी, पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक, स्वास्थ्य सेवा विस्तार तथा स्वरोजगारमूलक तालिम सञ्चालनलगायतका योजना समेटिएका छन् ।
त्यसैगरी सदस्यलाई उत्पादनसँग जोड्न ‘नमुना नवजीवन उद्योग ग्राम’ स्थापना गर्ने, प्रत्येक कार्यालयमा ‘सहकारी सहजकर्ता’ सहित हेल्प डेस्क सञ्चालन गर्ने तथा मधुमेह, उच्च रक्तचाप, थाइराइडलगायत रोगको उपचारका लागि सहकारी क्लिनिक स्थापना गर्ने योजना पनि अघि सारिएको छ ।
नवजीवन सहकारीको चुनावी साधारणसभा आगामी जेठमा हुँदैछ । अध्यक्ष पदका लागि गोपालराज पाठक र घनबहादुर शाह समूह पनि प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।



