१५ लाखका सुनका गरगहना सहितको झोला फिर्ता, इमान्दार हाईस चालकको प्रशंसा

भर्खरै

धनगढी/कैलालीको इलाका प्रहरी कार्यालय चिसापानीमा बुझाइएको सुनका गरगहना तथा नगद रहेको झोला सम्बन्धित धनीलाई फिर्ता गरिएको छ।
महेन्द्रनगर–ब्रह्मदेवबाट नेपालगञ्जतर्फ आउँदै गरेको सु.प.प्र.०१–००२ ख १३९३ नम्बरको हाईसमा यात्रुले छुटाएको बेवारिसे झोला चालक कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीका ४३ वर्षीय अमर बिष्टले इलाका प्रहरी कार्यालय चिसापानीमा बुझाएका थिए।
प्रहरीले झोला खोली जाँच गर्दा सुनका विभिन्न गरगहना, नगद एक सय रुपैयाँ तथा कपडाहरू फेला परेको थियो। अनुसन्धानपछि उक्त झोला कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्ती निवासी बिमला कुमारी जोशीको रहेको खुलेपछि सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
फेला परेका गरगहनाको अनुमानित मूल्य करिब १५ लाख रुपैयाँ रहेको छ । प्रहरीले इमान्दार चालक अमर बिष्टप्रति हार्दिक आभार व्यक्त गरेको छ ।