धनगढी, २५ वैशाख/गोपाल हमालले मेयर पदबाट प्राप्त सेवा–सुविधाको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने अभियानलाई निरन्तरता दिएका छन्। धनगढी उपमहानगरपालिकाका मेयर हमालले हालसम्म सेवा–सुविधाबाट प्राप्त २३ लाख ९७ हजार ६७८ रुपैयाँ विपन्न विद्यार्थी, स्वास्थ्य उपचार, सामाजिक सहायता तथा विभिन्न मानवीय क्षेत्रमा खर्च गरेको जानकारी दिएका हुन् ।
मेयर हमालले पदमा रहँदा प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत उपयोगभन्दा सामाजिक उत्तरदायित्वमा केन्द्रित गर्ने निर्णय अनुसार उक्त रकम वितरण गर्दै आएका बताएका छन् । उनले आफ्नै व्यक्तिगत स्रोतबाट समेत ५ लाख १७ हजार १२६ रुपैयाँ सहयोग प्रदान गरेको बताएका छन्।
उनका अनुसार हालसम्म सेवा–सुविधाबाट प्राप्त कुल ३८ लाख ८२ हजार ८७३ रुपैयाँमध्ये ठूलो हिस्सा सामाजिक सेवामा विनियोजन गरिएको छ भने बाँकी रकम पनि क्रमशः सार्वजनिक हितका क्षेत्रमा खर्च गरिनेछ। उनले कुल ४४ लाख रुपैयाँ सामाजिक क्षेत्रमा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मेयर हमालले विशेषगरी आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थी, उपचार खर्च जुटाउन नसक्ने बिरामी, विपन्न परिवार तथा विभिन्न सामाजिक अभियानलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको बताएका छन्।
उनले जनप्रतिनिधिको पद सेवा र उत्तरदायित्वसँग जोडिएको उल्लेख गर्दै सार्वजनिक पदबाट प्राप्त सुविधा जनताकै हितमा प्रयोग हुनु सकारात्मक अभ्यास भएको बताए।



