धनगढी, २७ माघ/निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा दिने तयारी थालेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा मतदातामा अन्योलता भने कायमै छ ।
आयोगले फागुन ३ गतेदेखि देशव्यापी रूपमा मतदाता शिक्षाको सुरुवात गर्ने गरी कार्यसूची अघि बढाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । निर्वाचन आयोगले मतदाता शिक्षा दिँदा पहिलेको तुलनामा बदरमत हरेक प्रदेश र जिल्लामा कम आओस् भनेर चाहेको प्रवक्ता भट्टराई औँल्याउनुहुन्छ । जस अनुसार आयोगले देशका ७७ जिल्लाका जिल्ला निर्वाचन कार्यालयलाई मतदाता शिक्षाका लागि स्वयंसेवक नियुक्ति र मतदाता शिक्षा अनुगमनकर्ता नियुक्त गर्न भनिसकेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार आयोगको कार्यसूचीमा आयोगले गर्नुपर्ने अधिकांश काम कम हुँदै गएको छ । जिल्ला निर्वाचन कार्यालयले गर्नुपर्ने काम भने बढ्दै छ । उहाँले भन्नुभयो, “यो पटक हामीले डिजिटल मतदाता शिक्षालाई जोड दिएका छौँ, पहिले त्यो तालिम स्वयंसेवकले लिन्छन् र त्यसपछि मतदाताका घरदैलो पुगेर डिजिटल माध्यमबाटै सिकाउँछन् ।”



