धनगढी, २५ माघ/कैलालीमा ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथुन प्रतियोगिता आयोजना हुने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते म्याराथुन प्रतियोगिता हुने भएको हो ।
जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियामा दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा गठित पूर्व विद्यार्थी मञ्चको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो।
आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. २५ हजार ५ सय ५५, द्वितीयलाई रु. १५ हजार ५ सय ५५ र तृतीयलाई रु. ५ हजार ५ सय ५५ पुरस्कार प्रदान गरिने संयोजक तथा पूर्व विद्यार्थी मञ्चका सदस्य प्रेमराज भट्टले जानकारी दिए।
भट्टका अनुसार महिला सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने धावकलाई पनि नगद रु. ५ हजार ५५५ प्रदान गरिनेछ। प्रतियोगितामा दुर्गालक्ष्मी नमुना माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरू मात्र सहभागी हुन पाउनेछन्। महिला र पुरुष दुवै धावकलाई एउटै प्रतिस्पर्धामा दौडाउन लागिएको उनले बताए। महिलाको सहभागिता तुलनात्मक रूपमा कम हुने भएकाले संयुक्त रूपमा प्रतिस्पर्धा गराउने निर्णय गरिएको भट्टको भनाइ छ।
मञ्चका पदाधिकारीका अनुसार विद्यालयबाट अध्ययन पूरा गरेर बाहिरिएका पूर्व विद्यार्थीहरूलाई पुनः विद्यालयसँग जोड्ने उद्देश्यले पूर्व विद्यार्थी मञ्च गठन गरिएको हो। मञ्चमार्फत विद्यालयलाई देशकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित हरेक वर्ष विभिन्न रचनात्मक गतिविधि सञ्चालन गरिने जनाइएको छ।
म्याराथुन दुर्गालक्ष्मी नमुना माविको प्राङ्गणबाट सुरु भई गोदावरी पुलसम्म पुगेर समापन हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि गोदावरी धाममा पूर्व विद्यार्थीहरूका लागि पिकनिक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको नारा ‘दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि’ रहेको छ। आयोजकले सबै पूर्व विद्यार्थीलाई सहभागिताका लागि आग्रह गरेको छ।



