माया मेट्रो अस्पतालमा टाँकाबिनाको स्टेपलर प्रविधिबाट खतना उपचार सुरु, के हो खतना ?

भर्खरै

धनगढी, १९ माघ/कैलालीको धनगढीमा पहिलोपटक टाँकाबिनाको आधुनिक स्टेपलर प्रविधि प्रयोग गरी सुन्नत (खतना) उपचार सेवा सुरु भएको छ ।
धनगढीस्थित माया मेट्रो अस्पतालले उक्त सेवा सुरु गरेको हो। अस्पतालले जानकारी दिएअनुसार विशेष मेडिकल उपकरण (स्टेपलर) प्रयोग गरी छिटो, सुरक्षित र प्रभावकारी रूपमा सुन्नत उपचार गरिनेछ ।
यस प्रविधिबाट गरिने सुन्नतमा टाँका लगाउनु नपर्ने, कम दुखाइ हुने तथा रक्तश्राव न्यून हुने बताइएको छ। स्टेपलर प्रविधि परम्परागत विधिभन्दा प्रभावकारी मानिन्छ ।
यसबाट गरिएको सुन्नतमा घाउ छिटो निको हुने, परिणाम सुन्दर र समान देखिने तथा संक्रमणको जोखिम कम हुने अस्पतालको दाबी छ । बालकदेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिले यो सेवा लिन सक्नेछन्। विशेषगरी मधुमेह (डायबेटिक) तथा अन्य दीर्घरोग भएका बिरामीका लागि यो विधि अझ सुरक्षित र लाभदायक रहेको अस्पतालले जनाएको छ । उक्त सेवा अस्पतालका वरिष्ठ मुत्ररोग विशेषज्ञ डा. सुमित कर्णले प्रदान गर्नेछन् ।
के हो खतना ?
सुन्नत (खतना) भनेको पुरुष लिंगको टुप्पामा रहेको छाला सुरक्षित तरिकाले काटेर हटाउने शल्यक्रिया हो। स्टेपलर सुन्नत भनेको टाँका नलगाई विशेष मेडिकल उपकरण (स्टेपलर) प्रयोग गरी छिटो, कम दुखाइ र कम रगत बग्ने गरी गरिने आधुनिक विधि हो।