धनगढी, १४ माघ/नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) ले निर्वाचन क्षेत्रका सबै वडामा सम्पर्क कार्यालय स्थापना गर्दै चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । संगठन विस्तार, मतदाता भेटघाट र पार्टी गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यले वडास्तरमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् ।
सम्पर्क कार्यालय स्थापनासँगै शाहले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । स्थानीय समस्या, आवश्यकता र जनअपेक्षा बुझ्दै काँग्रेसको नीति, कार्यक्रम र प्रतिबद्धता जनतामाझ पुर्याउने लक्ष्यसहित उनी दैनिक रूपमा विभिन्न वडामा सक्रिय देखिएका छन् ।
कार्यक्रमअनुसार धनगढी उपमहानगरपालिकाका १९ वटै वडा तथा कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ मा सम्पर्क कार्यालय स्थापना भइसकेको छ । कार्यालय उद्घाटनका क्रममा उम्मेदवार शाहले नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै रिबन काटेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।

सम्पर्क कार्यालयलाई चुनावी प्रचारको केन्द्र मात्र नभई जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने थलोका रूपमा विकास गरिने शाहको भनाइ छ । आफू पार्टीभित्र सबैको साझा उम्मेदवार भएकाले सबैको साथ र समर्थन प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।
उनले कार्यकर्तालाई मर्यादित, अनुशासित र सभ्य ढंगले चुनावी अभियानमा लाग्न आग्रह गर्दै नकारात्मक प्रचारभन्दा विकास, सुशासन र जनसेवाका मुद्दालाई प्राथमिकतामा राख्न निर्देशन दिए ।



