धनगढी, २ माघ/नेप्लिज एसोसियसन अफ भिक्टोरिया (न्याभ) कप कार्निवल–२०२६ माघ ५ गतेदेखि हुने भएको छ । चैत १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता जे.सी. डोनाथ रिजर्भ जलाशय (ग्राउण्ड) मा हुनेछ ।
कार्निवल अन्तर्गत तीन फरक–फरक क्रिकेट प्रतियोगिता समावेश गरिएको आयोजकले जनाएको छ । २१ औं न्याभ कप अन्तर्गत यस वर्ष १५ टोली सहभागी हुनेछन् । टोलीहरूलाई समूह ‘ए’ मा ८ र समूह ‘बि’ मा ७ टोली विभाजन गरिएको छ । प्रतियोगिताका विजेताले ५ हजार ५ सय अस्ट्रेलियन डलर र उप–विजेताले २ हजार १ सय डलर प्राप्त गर्नेछन् ।
त्यस्तै, ८ औं च्यारिटी कप प्रतियोगितामा यस वर्ष पुरुषसँगै महिलाको समेत सहभागिता रहनेछ । च्यारिटी कप सफ्ट टेनिस बल प्रयोग गरी खेलाइनेछ । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, विकेटकीपर र फिल्डरलाई व्यक्तिगत पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
यसैगरी, यस वर्षदेखि बालबालिकाका लागि नयाँ श्रेणीका क्रिकेट प्रतियोगिता सुरु गरिएको छ । १० वर्षमुनि र १५ वर्षमुनि समूहका प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीलाई प्रमाणपत्र र पदक प्रदान गरिनेछ । साथै उत्कृष्ट ब्याट्सम्यान, बलर, विकेटकीपर र फिल्डरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
आयोजकका अनुसार एनएभी कप कार्निवलले स्थानीय क्रिकेट प्रतिभाको पहिचान, विकास तथा खेल संस्कृतिको प्रवद्र्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।



