धनगढीमा यू–१६ स्मार्ट जेनेरेसन फुटबल च्याम्पियनशिप : विजेताले पाउँनेछ नगद २ लाख, ट्रफी सार्वजनिक

भर्खरै

धनगढी/धनगढीमा जिल्ला स्तरीय यू–१६ स्मार्ट जेनेरेसन फुटबल च्याम्पियनशिप–२०२६ प्रतियोगिता हुने भएको छ । बद्री–कुन्ता स्मृति प्रतिष्ठान संगको सहकार्यमा कैलाली जिल्ला फुटबल संघले बद्री–कुन्ता मेमोरियल जिल्ला स्तरीय यू–१६ स्मार्ट जेनेरेसन फुटबल च्याम्पियनशिप–२०२६ प्रतियोगिताको आयोजना गर्ने भएको हो । कैलाली जिल्लाका उदाउँदा फुटबल प्रतिभाहरुको पहिचान, विकास तथा प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी पाउँनेछ । यही पुस १८ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगिताको उप–विजेताले नगद एक लाख रुपैयाँ पाउँनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोल रक्षक, फेयर प्ले टिम र उत्कृष्ट प्रशिक्षकलले नगद ५÷५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले नगद एक हजारसहित ट्रफी प्राप्त गर्नेछ । कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रका अनुसार प्रतियोगितामा कैलाली जिल्ला फुटबल संघमा सुचिकृत क्लबहरु मात्र प्रतियोगितामा सहभागी हुन पाउँने र कैलाली जिल्लाका प्रत्येक स्थानीय तहबाट एक÷एक टिम सहभागी हुनेछन् । कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लका अनुसार सहभागी खेलाडीहरुको जन्म १८ माघ, २०६६ पछि भएको हु्नुपर्ने बताए । ‘प्रत्येक टिममा कुल २५ सदस्यीय अनिवार्य हुनेछ’ अध्यक्ष मल्लले भने, ‘२ जना गोल रक्षकसहित २० जना खेलाडी अनिवार्य हुनुपर्नेछ । मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, टिम म्यानेजर, मेडिकल अफिसर र टिम स्टाप एक÷एक जना हुनुपर्नेछ ।’ आयोजकले धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रफी सार्वजनिक गरिसकेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का (रवि) को प्रमुख आतिथ्यतामा ट्रफी सार्वजनिक गरिएको थियो ।