धनगढी, २ पुस/धनगढीमा भुवा पर्व महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता हुने भएको छ । बाजुरेली समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित भुवा पर्व महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता–२०८१ हुने भएको हो । धनगढी रङ्गशालाको प्राङ्गणमा उक्त प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको प्रायोजक रहेको प्रतियोगिताको आयोजना बाजुरेली सेवा समाज धनगढीले गर्न लागेको हो । महोत्सव तथा भुवाचाली खेल प्रतियोगिता पुस ४ गतेदेखि ६ गतेसम्म हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बताइएकको हो ।

महोत्सव अन्तर्गत सञ्चालन हुने भुवाचाली खेल प्रतियोगितामा सहभागी टोलीहरूबीच प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ प्रदान गरिनेछ । सहभागी सबै टिमलाई १०–१० हजार नगदसहित, प्रमाणपत्र प्रदान गरिने बाजुरेली सेवा समाजका अध्यक्ष भरत के.सी. ले बताए ।
अध्यक्ष के.सी. का अनुसार भुवा पर्व बाजुरेली समाजको पहिचानसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस महोत्सवले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृति चिन्न र संरक्षणमा जोडिन प्रेरणा दिने विश्वास लिइएको छ । महोत्सवमा भुवाचाली खेलसँगै सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति तथा समुदायबीच आपसी सद्भाव सुदृढ बनाउने गतिविधिहरू समेटिने उनले बताए ।
आयोजकले सम्पूर्ण कला संस्कृति प्रेमी, खेलप्रेमी तथा सर्वसाधारणलाई महोत्सवमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरेको छ।



