धनगढी, १ पुस/एक लाख बढीले धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । २०७९ सालदेखि हालसम्म एक लाख ३३ हजार बिरामीले स्वास्थ्य सेवा लिएका धनगढी उपमहानगरपालिका विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका संयोजक कृष्ण बोहोराले जानकारी दिए ।
बोहराका अनुसार सो अवधिमा ७८ हजार ७३६ जनाले जनरल फिजिसियनबाट, २६ हजार २४२ महिलाले स्त्री तथा प्रसूतिरोग विशेषज्ञबाट र ४० हजार ३४८ जनाले आँखासम्बन्धी सेवा लिएका छन् । सो अवधिमा सेवा लिनेमध्ये २४ हजार ४२६ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहका छन् । उनका अनुसार भिडियो एक्सरे, इसिजी, गर्भवती सेवा, ल्याब सेवा, सुगर तथा अन्य सेवा पनि वडामा नै दिने गरेको बताए । उपमहानगरका अनुसार ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजनाका रूपमा सञ्चालनमा ल्याइएको हो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २५ लाख बराबरको स्वास्थ्य जाँचका मेसिनरीको सहयोग उपलब्ध गराएको छ । साथै गेटा आँखा अस्पताल र धनगढी नेत्रालयले आँखारोगसम्बन्धी उपचारमा सहयोग गर्दै आएका छन् । यस्तै प्रयोगशाला, अल्ट्रासाउन्ड, इसिजीलगायतका सेवा पनि वडा स्वास्थ्य क्लिनिकले प्रदान गर्दै आएको छ ।
उपमहानगरको वडा नम्बर १९ बाट सुरु गरिएको वडा स्वास्थ्य क्लिनिक प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको छ । वडा स्वास्थ्य सेवा सुरु भएपछि आर्थिक रूपमा विपन्न नागरिक, वृद्धवृद्धा, सुत्केरी र अशक्त बढी लाभान्वित भएका छन् ।



