कैलाली उद्योग वाणिज्य संघ र स्विस परियोजनाबीच सीप विकासमा सहकार्य

भर्खरै

धनगढी, १ पुष/कैलाली उद्योग वाणिज्य संघ र तीन वटा स्विस सहयोग परियोजनाबीच सुदूरपश्चिम प्रदेशमा प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्रवद्र्धनका लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कैलाली उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष पुष्कर राज ओझाले हस्ताक्षर गर्नुभएको छ भने दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना–दोस्रो, नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना–दोस्रो र युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजनाका टिम लिडरहरूले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै सुदूरपश्चिम प्रदेशमा प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको क्षेत्रमा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित हुने विश्वास गरिएको छ। यसले स्थानीय आवश्यकता अनुसार सीप विकास, युवाहरूको रोजगारीमा पहुँच वृद्धि तथा दिगो रोजगार सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कैलाली उद्योग वाणिज्य संघले निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यमार्फत प्रदेशको आर्थिक विकास र मानव संसाधन सुदृढीकरणमा यस सम्झौताले सकारात्मक भूमिका खेल्ने जनाएको छ।