आजदेखि सुदूरपश्चिम महोत्सवको १९ औं संस्करण सुरु

भर्खरै

धनगढी, २२ मंसिर/सुदूरपश्चिम महोत्सव–२०८२ आजदेखि सुरु हुँदैछ । २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको महोत्सव सोमबारदेखि धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा हुँदै छ । महोत्सवको नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नेछन् ।
उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना लगायतको उपस्थिती रहने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग–व्यापार, कला–संस्कृति र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यसहित निरन्तर रुपमा आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सव १९ औं संस्करणको रुपमा यस वर्ष आयोजना हुँदैछ ।
‘वृहत व्यवसायीक कृषि प्रदर्शनी र कृषिमा आएको प्रविधिलाई व्यवसायमा जोड्का लागि प्रदर्शनीमा विशेष जोड दिएका छौ’ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले भन्नुभयो, ‘यस वर्षको महोत्सव प्रदेशको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक पहिचानलाई उजागर गर्ने महत्वपूर्ण अवसरका रूपमा रहने विश्वास गरेका छौं ।’
यो संस्करणमा ‘बृहत व्यवसायिक कृषि प्रदर्शनी’ मुख्य आकर्षण बन्नेछ । अध्यक्ष पुष्करराज ओझाका अनुसार कृषिमा आएको प्रविधि र नव प्रयोगलाई व्यवसायसँग जोड्दै किसान तथा उद्यमीलाई व्यवहारिक फाइदा पु–याउने उद्देश्यले विशेष स्टलहरु राखिएका छन ।
कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, सूचना–प्रविधि लगायतका ५०० भन्दा बढी स्टल महोत्सवमा रहने अध्यक्ष ओझाले बताए ।
सास्कृतिक र प्राकृतिक रूपमा धनी सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणसंगै यस क्षेत्रका कला संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरुलाई स्टेजमा प्राथमिकता दिइएको संघका सचिव तथा सास्कृतिक संयोजक प्रकाश चन्दले बताए । ‘महोत्सवमा प्रवेश गर्ने दर्शक तथा व्यवसायीको सुरक्षा सुनिश्चित गर्न अत्याधुनिक सीसी क्यामेरा, निजी र सरकारी सुरक्षाकर्मीको पर्याप्त व्यवस्था गरिएको छ’ संयोजक चन्दले भन्नुभयो, ‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै दमकल, प्राथमिक उपचार टोली तथा बीमा पनि गरेका छौं ।’
महोत्सवमा तीन करोड लागतको अनुमान गरिएको छ भने १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । महोत्सवमा करिब ७ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रत्येक संस्करण जस्तै यसवर्ष पनि टिकटको केही रकम महिला सशक्तीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण तथा सामाजिक क्षेत्रमा प्रदान गरिने आयोजकले जनाएको छ ।
विद्यार्थीका लागि टिकट दर ५० रुपैयाँ, सर्वसाधारणका लागि १०० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका तथा संघका सदस्यका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको छ । डिजिटल भुक्तानी प्रवद्र्धन गर्न यसवर्ष महोत्सवलाई इसेवासँग अनलाइन टिकट पार्टनरसिपमा लगिएको छ। मोबाइलबाटै अनलाइन टिकट खरीद गर्न सकिने व्यवस्था रहेको संघले जनाएको छ । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।