धनगढी, २० मंसिर/कैलालीमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिकाको आयोजना तथा श्री शान्ति माध्यमिक विद्यालय मोहन्यालको व्यवस्थापनमा आजदेखि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको हो । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले समग्र खेलकुद विकासका लागि सबै सरोकारवालाहरु एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री शाहले स्थानीय तहबाट यस्ता खेलकुद क्रियाकलापलाई निरन्तरता दिन सक्नु ठूलो उपलव्धि भएको बताउनुभयो ।
यसअघि आफू मोहन्याल पुगेका बेला स्थानीय जनतासँग गरेको वाचा अनुसार प्राथमिकताका साथ बजेट विनियोजन गरिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले आगामी वर्ष पनि यस क्षेत्रलाई थप प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चुनावका समयमा विभिन्न दलबाट उम्मेदवारी दिए पनि विकास–निर्माणको सवालमा सबै जनप्रतिनिधिहरू एउटै उद्देश्यका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

प्रतियोगितामा मोहन्याल गाउँपालिकाका सात वटै वडाबाट गठन भएका सात टोलीको सहभागिता रहको छ । छात्र–छात्रातर्फ १००, २००, ३००, ८००, १५०० र ३००० मिटर दौड, लङ्गजम, हाइजम्प, ट्रिपल जम्प लगायतका एथलेटिक्स खेलहरू सञ्चालन हुनेछन । प्रतियोगिता मंसिर २३ गतेसम्म सञ्चालन बताइएको छ ।




