धनगढी, १७ मंसिर/आगलागीबाट क्षतिग्रस्त कैलालीका एक व्यवसायीलाई कैलाली उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ । आगलागीबाट क्षतिग्रस्त जिल्लाको गोदावरी नगरपालिका–५, गेटामा अवस्थित निशा ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकलाई ५० हजार रुपैयाँ नगद राहत सहयोग प्रदान गरेको हो ।
संघको टोलीले बुधबार घटना स्थलमै पुगेर पीडितलाई उक्त रकम हस्तान्तरण गरेको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा, महासचिव दिनेश लम्साल, सचिव प्रकाश कुमार चन्द, कोषाध्यक्ष तीलकसिंह बोहोरा, सदस्यहरू प्रमिला पाठक, शुभ ठाकुर, तेज बम तथा कार्यालय प्रमुख दिनेश ओझालगायतको टोलीले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेको हो ।
आगलागीका कारण निशा ट्रेडर्स एण्ड सप्लायर्समा लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । पीडित व्यवसायीले उद्योग वाणिज्य संघबाट पाएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै थप सहयोगका लागि सरोकारवाला निकायसँग अपिल गरेका छन् ।



