सुदूरपश्चिममा थपिए ४६ हजार मतदाता, प्रदेशभर मतदाताको संख्या १७ लाख नाघ्यो

भर्खरै

धनगढी, ८ मंसिर/सुदूरपश्चिम प्रदेशमा ४६ हजार बढी मतदाता थपिएका छन् । फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा भएपछि प्रदेशभर ४६ हजार २० नयाँ मतदाता थपिएका हुन् ।
राष्ट्रिय परिचयपत्रमार्फत २९ हजार ४३९ तथा निर्वाचन कार्यालयहरुमा पुगेर १६ हजार ५८१ जनाले प्रदेशभर मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार असोज १० गतेदेखि मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ताको काम भएको थियो । सो अवधिमा सबैभन्दा बढी कैलालीमा मतदाता थपिएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार कैलालीमा १२ हजार ११३ जनाले राष्ट्रिय परिचयपत्रमार्फत तथा ६ हजार एक सय जनाले निर्वाचन कार्यालयमै पुगेर मतदाता नावावलीमा नाम दर्ता गराएका छन् । कैलालीपछि कञ्चनपुर जिल्लामा बढी मतदाता थपिएका छन । कार्यालय प्रमुख भट्टका अनुसार निर्वाचन कार्यालयमा पुगेर ४ हजार १९९ तथा राष्ट्रिय परिचयपत्रमार्फत ८ हजार ९२ गरी १२ हजार २९१ मतदाता कञ्चनपुरम थपिएका छन् ।
भट्टका अनुसार दार्चुलामा २ हजार ६२८, अछाममा २ हजार ६०४, बझाङमा र्२ हजार ३४५, डडेल्धुरामा एक हजार ८९२, डोटीमा एक हजार ८७२ तथा बाजुरामा एक हजार पाँच सय १७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले भने, सुदूरपश्चिममा असोज १० गतेअघि १६ लाख ७४ हजार मतदाता रहेका थिए ।
‘४६ हजार २० जना मतदाता थपिएसंगै प्रदेशभर मतदाताको संख्या १७ लाख २० हजार नाघेको छ,’ भट्टले भने, ‘अद्यावधिकको कार्य २१ गतेदेखि सुरु गर्दैछौं । त्यसपछि मतदाताको संख्या घट्न पनि सक्छ ।’