धनगढी, ११ जेष्ठ/धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नगर प्रहरी निरीक्षकलाई स्पष्टिकरण सोधेका छन् । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले नगरी प्रहरी निरीक्षक लक्ष्मण सिंह धामीलाई स्पष्टिकरण सोधेका हुन् ।
‘तपाईले जेष्ठ १० गते कैलाली भन्सार कार्यालयका कार्यालय प्रमुखलाई अन्दाजी राती १० बजेको समयमा कार्यालय हाताभित्र प्रवेश गरी हातपात गरी कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल र अनलाईन पत्र पत्रिकामा तपाईसंग जोडिएर आएको हुँदा उक्त घटनामा तपाईको संलग्नता देखिएकोले सो सम्बन्धमा के कसो भएको हो ? आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई आफ्नो पदिय मर्यादाको उलंघन गरी निजलाई कुटपिट गर्नुपर्ने कारण के हो ? आफ्नो पदिय मर्यादाभन्दा बाहिर गई तपाईले गर्नुभएको उक्त घटनाका सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी सत्य तथ्य व्यहोराको स्पष्टिकरण यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्ट उचित कारणसहित पेश गर्न जानकारी गराईन्छ’, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले हस्ताक्षर गर्नुभएको स्पष्टिकरण पत्रमा लेखिएको छ, ‘समयमा स्पष्टिकरण प्राप्त हुन नआएमा धनगढी उपमहानगरपालिकाको नगर प्रहरी (व्यवस्थापन) कार्यविधी (संशोधन समेत) २०७९ तथा अन्य प्रचलित कानुन अनुसार कारवाही भई जाने व्यहोरा समेत जानकारी गराईन्छ ।’ स्पष्टिकरण पत्रको बोधार्थ नगर प्रमुखको सचिवालय र नगर उपप्रमुखको सचिवालाई पठाइएको छ ।




