धनगढी नगर प्रहरी प्रमुख धामीसहितका नगर प्रहरीले कैलाली भन्सार प्रमुखमाथी कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक

भर्खरै

धनगढी, ११ जेष्ठ/कैलाली भन्सार कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेका छन् । प्रमुख भन्सार अधिकृत तिमिल्सिनामाथि शनिबार राति भन्सार कार्यालयभित्रै नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका प्रहरीले कुटपिट गरेका हुन् ।
राति करिब १० बजेतिर भन्सार कार्यालयभित्र प्रवेश गरेका उनीहरूले प्रमुख तिमिल्सिनालाई धकेल्दै कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिन्छ । नगर प्रहरीले प्रमुख भन्सार अधिकृतमाथि केरकार गर्दै कुटपिट गरेका छन् ।
फुटेजमा देखिएअनुसार एक जना मात्र नगर प्रहरी पोशाकमा रहेका छन् भने अन्य सादा पोशाकमा छन् । प्रमुख भन्सार अधिकृतमाथि कुटपिट गर्ने धनगढी नगर प्रहरीका प्रमुख समेत रहेका नगर प्रहरी निरीक्षक धामी भएको बताइएको छ ।
तर, नगर प्रहरी निरीक्षक धामीले भने तिमिल्सिनामाथि कुटपिट नगरेको दाबी गरेका छन् । तिमिल्सिना मदिराले लठ्ठ अवस्थामा रहेको दाबी गर्दै धामीले उल्टै आफूहरूमाथि दुव्र्यवहार गरेको बताए ।
धामीले उनी भन्सार प्रमुख भएको कुरा थाहा नभएका कारण भन्सार कार्यालयभित्र अनधिकृत व्यक्ति प्रवेश गरेको पो हो कि भनेर आफूहरू त्यहाँभित्र गएको तर हातपात र कुटपिट नगरेको दाबी दोर्होयाएका छन् ।
‘उहाँले म, भन्सार चिफ हुँ भनेर तमासा देखाइरहनुभएको थियो । त्यहाँ भएका कसैले पनि उहाँ चिफ हो भनेर भन्नुभएन । उहाँ भन्सार कार्यालयभित्र प्रवेश गरेपछि हामी पनि गएका थियौँ,’ धामीले भने, ‘तर पछि प्रहरीले हाकिमसाब हो भनेर यकिन गरेपछि हामी फर्किएका हौं । हातपात र कुटपिट गरेका छैनौँ ।’
तर, फुटेजमा भने कुटपिट गरेको स्पष्ट देखिन्छ । तीव्र गतिको जिपले ६ लेन सडकको ट्री गार्डेनमा लगाइएका जाली भत्काएपछि खोजीमा नगर प्रहरीको टोली राति कैलाली भन्सारको बेरियलसम्म पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले भन्सार प्रमुख र नगर प्रहरीबीच वादविवाद भएको खबरपछि राति प्रहरीको टोली पठाइएको बताए । तर प्रहरीको टोली त्यहाँ पुग्दासम्म स्थिति समान्य भइसकेको बताउँदै घटनाबारे थप कुरा बुझ्ने काम भइरहेको बताए ।
भन्सार प्रमुख तिमिल्सिनाले घटनाबारे प्रतिवेदन बनाएर विभागमा पठाउने तयारी गरेका छन् । भन्सार कार्यालयका सूचना अधिकारी खेम अर्यालले प्रमुखमाथि भएको कुटपिटसम्बन्धी घटनाको प्रतिवेदन बनाएर विभागलाई पठाउने तयारी भइरहेको जानकारी दिए ।
प्रतिवेदनमा घटना विवरणसहित कार्यालयभित्रै प्रवेश गरेर कुटपिटमा संलग्न नगर प्रहरीलाई कारबाहीको माग गरिने भन्सार कार्यालयले जनाएको छ ।