बेहडाबाबामा गंगादशहरा मेला : बुकिङ्ग खुला भएको दिन १७४ स्टल दर्ता

भर्खरै

धनगढी, ११ वैशाख/बेहडाबाबामा सञ्चालन हुने गंगादशहरा मेलाका लागि एकै दिन १७४ स्टल दर्ता भएका छन् । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा यहि जेष्ठ २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने गंगादशहरा मेलाका लागि बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले जेष्ठ १० गतेदेखि मेलाका लागि स्टल दर्ता सुरु गरेको हो । स्टल बुकिङ्ग खुला गरिएको पहिलो दिनमा १७४ स्टल दर्ता भएको समितिका कोषाध्यक्ष रतनबहादुर अधिकारीले बताउनुभयो ।
सेवा समितिले १२ फिट बराबर एक पसल मानेर दर्ता गर्ने प्रकृया अगाडि बढाएको छ । तर, व्यापारीले १२० फिटसम्म एक्लैले रसिद काटिरहेका छन् । फिटलाई हिसाव गर्दा २ सय २५ पसल दर्ता भइसकेको अनुमान समितिको छ । मेलामा ५०० पसल दर्ता हुने समितिको अनुमान छ । कोषाध्यक्ष अधिकारीका अनुसार पसलका लागि रेखांकन भइसकेको छ भने रमाइलो मेलाको तयारी, पार्किङ्ग लगायतको सम्झौता भएर काम अगाडि बढेको छ ।
गंगा दशहरा मेलामा नेपाल मात्र नभएर भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु बेहडाबाबा पुग्ने गर्दछन् ।