धनगढी, १४ बैशाख/भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाइते भएका नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाह (मनु) सहित ६ जनालाई थप उपचारका लागि लखनउ लगिएको छ । परिवारका सदस्यहरु सहित नियमित स्वास्थ्य जाँचका लागि धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आईतवार बिहान करीव ११ बजे भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको थियो । दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाइतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिएको हो । चिकित्सकले शाहको अवस्था खतरामुक्त रहेको बताएका छन् । शाहलाई थप उपचारका लागि लखनउस्थित म्याक्स अस्पताल लगिएको सुवास पडालले बताए ।
खुटारमा दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनाको खुटारस्थित अस्पतालमा उपचार गरिएको थियो । दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट शाहजहाँपुर पुगेका आफन्तले घाइते शाह सहित ६ जनालाई नै उपचारका लागि लखनउ लगेका हुन् । दुर्घटनामा परी काँग्रेस नेता शाहसंगै उनकी पत्नी ईशु शाह, दुई वर्षीया छोरी आभ्या, आमा नर्मदादेवी शाह, बहिनी मधु राणा र ज्वाई प्यारु राणा घाइते भएका थिए ।
शाहको टाउकोमा चोट लागेको छ । उनकी पत्नीको हात भाँचिनुका साथै ढाडमा चोट लागेको छ । छोरी आभ्याको आँखामा चोट लागेको छ । बहिनी र ज्वाईको टाउकोमा चोट लागेको छ । आमाको अवस्था सामान्य छ । बिहान ९ बजे धनगढीबाट निस्किएका शाह चढेको गाडी करीव ११ बजे खुटारमा रोडवेजको बससंग ठोकिएको थियो । बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । गाडीको अगाडिको सीटमा बसेका कारण शाहलाई बढि चोट लागेको थियो । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए ।



