धनगढी, १४ वैशाख/बाबा मम्मीको विशेषदिनमा दाजुभाइ र दिदी मिलेर सरप्राइज गिफ्ट दिन दैनिक खाजा खर्च जोहो गर्छन् । दैनिक खाजा खर्च बचाएर दाजुभाइले दैनिक दिदीलाई पैसा जम्मा गर्न दिन्छन् । कुन गिफ्ट दिने तीन जनालाई मात्र थाहा हुन्छ । बाबा मम्मीको विशेष दिन अघि अघिल्लो साँझ गिफ्ट किनेर ल्याउछन् र ढोकाको चुक्कुल लगाएर प्याक गर्छन । योगेश्वरी, योगेश र ललित चौधरी । दिदी र दाजुभाइ मिलेर । बाबा मम्मीको जन्मदिन होस् या मुख हेर्ने दिन । योगेश्वरी (१५), योगेश (९) र ललित (११) ले आज वैशाखकृष्ण पक्ष औँसीका दिन पर्ने आमाको मुख हेर्ने दिनमा मम्मीलाई दिने गिफ्ट हिजो नै दाजुभाइ र दिदीले रेपरमा प्याक गरेर राखि सकेका छन् । यद्यपी दिदीको बिहानै स्कूल र दाजुभाइको १० बजे भएकाले दिन पाएनन् । ‘आज हामी मम्मीलाई सरप्राइज गिफ्ट दिन्छौं’ योगेशले भन्यों, ‘मम्मीलाई थाहा छैन हामी के गिफ्ट दिदैछौ भनेर ।’ यद्यपी आमालाई यो वर्ष अलि महगो गिफ्ट दिने र सोका लागि धेरै पैसा चाहिने भनेर योगेश्वरी र योगेश तथा ललितले खाजा खर्च कटाएर बचाएको पैसाले गिफ्ट किन्ने पैसा नपुगेपछि आ–आफ्ना बाबासंग पैसा मागेर गिफ्ट किनेर प्याक गरिसकेका छन् । आज दिइने गिफ्ुटबारे आ–आफ्ना मम्मीलाई भने थाहा दिएका छैनन् ।

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्साइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा देवमणि भट्टराई बताउँछन् ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरूभन्दा बढी छ । बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उनले बताए । यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।



