धनगढी, १० वैशाख/आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाका विषयमा सुदूरपश्चिम प्रदेश सरकार जुटेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगामी अ.व. ०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा लगायत विविध विषयमा मुख्यमन्त्री शाहले प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी र सचिवसँग छलफल गर्नु भएको छ । छलफलमा मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कार्यान्वयन योग्य नीतिगत सुधार र प्राथमिकता क्षेत्र पहिचान गरी सो को प्रतिवेदन १५ दिन भित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न मातहतका मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

दीर्घकालीन महत्वका कार्यक्रमहरू र कार्यान्वयनको अवस्था, आयोजना बैंकको कार्यान्वयनको प्रारम्भ एवं आगामी वर्ष संस्थागत गर्ने विषय, आयोजनाको डिजाइन, डि.पि.आर. मा एक रूपता कायम गर्ने विषय, चालु खर्च कटौती गर्ने र पुँजीगत खर्च बढाउने, प्रदेशको आन्तरिक राजश्व बढाउने, विकासमा सुशासन, नागरिक सहभागिता एवं उपभोक्ता समितिको काम कारवाहीको प्रभावकारिता विषयमा छलफल भएको थियो । आगामी आ.व. को नीति तथा कार्यक्रमका लागि नागरिक जनजीवनसँग सम्बन्धित प्रभावकारी र नविनतम नीति, कार्यक्रम र आवश्यकतानुसार योजना छनौट गर्न मुख्यमन्त्री शाहले आग्रह गर्नुभयो ।



