धनगढी, १० वैशाख/यो सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढी उपमहानगर–१६ मा पर्ने भादा गाउँ । भादामा बस्ती विकासको सुरुआत गर्ने व्यक्ति भागवत दास भएको गाउँका अगुवा बताउँछन् । दाङ घर भएर तान्त्रिक विद्या मार्फत वैद्य र झाँक्रीको समेत काम गर्ने दासले ठाउँ–ठाउँमा बस्ती बसाले पनि गैर थारूले दुःख दिएर विस्थापित भएर हिंड्नुपर्ने बाध्यता थियो ।
भगवती दासको नामले चिनिने भागवत दास थारू धेरै वर्षअघि यो ठाउँमा आएर बसेको स्थानीय बताउँछन् । भागवत वैद्य र झाँक्री पनि थिए । देवता खेलाउने दासले गाउँमा कुनै दैवीय प्रकोप भोग्न नपरोस् र यो ठाउँ छाडेर फेरि अन्यत्र जान नपरोस् भन्दै पूजाअर्चना पनि गरेका थिए ।
दासको मृत्युपछि उनकै नामबाट गाउँको नामकरण गरेर भादा राखिएको किंवदन्ती छ । भादा गाउँका स्थानीय पदमबहादुर चौधरी (६१) भागवत दासकै नामबाट गाउँको नाम पनि भादा राखिएको बताउँछन् । उनै भागवतले जंगल छेउमा रहेको फाँटलाई सम्याएर बस्ती बसाएका थिए ।



