धनगढी, १० वैशाख/केही दिनदेखि तराईका जिल्लामा तातो हावा (लु) चल्न थालेसंगै बढेको गर्मीले जनजीवन प्रभावित हनु थालेको छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर सहित तराईका जिल्लामा गर्मी बढेसंगै जनजीवन प्रभावित हुन थालेको हो ।
अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको कैलालीको अत्तरियास्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ।
कार्यालयका जलवायु विज्ञ सञ्जय साहले गर्मी बढ्दै जाँदा धनगढीको अधिकतम् तापक्रम मंगलवार यो वर्षकै सबैभन्दा बढी ४० दशमलब आठ डिग्री सेल्सियस मापन भएको जानकारी दिए । सोमवार धनगढीको अधिकतम् तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो। उनले भने, ’प्रि मनसुनले तातो हावासहितको हुरी चल्ने, असिनापानी पर्ने आफ्नो लक्षण देखाउँदा गर्मी पनि बढेको हो, अझैँ तापक्रम बढ्नसक्ने हुनसक्छ।’
मनसुन भित्रिन अझैँ डेढ महिनाको समय बाँकी छ। गर्मी बढेसँगै धनगढी क्षेत्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध भइरहने समस्या पनि बढेको छ। गर्मीसँगै कैलालीसहितका जिल्लामा आगलागिका घटना पनि बढ्न थालेका छन्।



