विदेशी नागरिक कैलालीमा मृत भेटिए, इंग्ल्याण्डबाट घुम्न आएका थिए

भर्खरै

धनगढी, ५ वैशाख/कैलालीमा विदेशी नागरिक मृत भेटिएका छन् । इंग्ल्यान्डका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका–४ नोमाबोझीमा मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले गत कात्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बसेका गोर बिहीबार राति साढे ९ बजेको समयमा सुतेको कोठामै मृत भेटिएको बताए ।
प्रहरी नायव उपरीक्षक बोहराका अनुसार उनी सुतेको कोठाको भित्रबाट चुक्कुल लगाइएको थियो । सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा गोर सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
घटनास्थल कार्य सकेर शव परीक्षणका लागि अस्पताल पठाइने र त्यसपछि शव सम्बन्धित देशमा पठाउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक गोर र नेपाली मूलकी भारतीय महिला बमका बुवा साथी हुन् ।
घुम्नका लागि टुरिस्ट भिसामा नेपाल आएका उनीहरू कात्तिकदेखि बर्दगोरिया(४ मा छुट्टाछुट्टै घरमा डेरा गरी बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।