चिसापानी–धुलिकोट दरबारसम्म ऐतिहासिक पदयात्रा प्रतियोगिता, प्रथम हुनेलाई नगद एक लाख

भर्खरै

चिसापानी, २२ चैत/चिसापानी–धुलिकोट ऐतिहासिक पदयात्रा प्रतियोगिता–२०८२ हुने भएको छ । नेपाल पर्यटन बोर्डको प्रायोजन, लम्कीचुहा नगरपालिकाको प्रवद्र्धन तथा नवल सिंह रावल फाउण्डेसनको आयोजनामा पदयात्रा प्रतियोगिता हुने भएको हो ।
मोहन्याल गाउँपालिका–७, पितमारीमा आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै गुमनाम धुलिकोट दरबारको प्रचारप्रसार गर्दै विश्वसामु चिनाउन बैशाख १८ गते ऐतिहासिक पदयात्रा प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताको लोग अनावरण गरिएको छ भने अफियिल एन्थम रिलिज समेत गरिएको थियो । नवल सिंह रावल फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलका अनुसार बैशाख १८ गते बिहान ७ बजे सुदूरपश्चिम प्रदेश द्धार चिसापानीदेखि धुलकोट दरबारसम्म पदयात्रा प्रतियोगिता हुने बताउनुभयो । गुमनाम ऐतिहासिक धुलकोट दरबारको बाजारीकरण गर्दै विश्व जगतमा सन्देश दिन पदयात्रा प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष रावलले बताउनुभयो । चिसापानीदेखि धुलिकोट दरबारसम्म ७ किलोमिटर दूरी रहेको र जाँदा १ घण्टा ४६ मिनेट र फर्कदा ५९ मिनेटमा आफू फर्किएको रावलले बताए । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दृतिय हुनेलाई ५० हजार र तृतिय हुनेलाई २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था रहेको उहाँले बताउनुभयो ।
लम्की–चुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीले नगरपालिकाको प्रवेश द्धार मात्र नभएर समग्र सुदूरपश्चिम प्रदेशको प्रवेश द्धार भएको र पछिल्लो समय पर्यटकीय क्षेत्रको हब बन्दै गएको अवस्थामा ऐतिहासिक पदयात्रा प्रतियोगिताले थप बल पुग्ने बताउनुभयो । मेयर शाहीले प्रतियोगितामा सुदूरपश्चि प्रदेशका सबै स्थानीय तहका वडादेखि पालिका प्रमुख, प्रदेश सभा सदस्यदेखि मन्त्रीसम्म र प्रतिनिधि सभा सदस्यहरुको समेत सहभागिता हुने बताउनुभयो । नेपाल पर्यटन बोर्डको १५ लाख र लम्कीचुहा नगरपालिकाले प्रतियोगिता आयोजनाका लागि २ लाख आर्थिक सहयोग गरेको बताउनुभयो ।