धनगढी, २८ फागुन/नेपालकै पहिलो फ्रेन्चाईजमा आधारित व्यवसायिक फुटबल लिंग नेपाल सुपर लिगको ट्रफी टूर सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीबाट ट्रफी टूर सुरु गरिएको हो । धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित शिवपुरी धाममा पूजा गर्दै ट्रफी टूर सुरु गरिएको हो । शिवपुरी धामबाट सुरु गरिएको ट्रफी टूर बेहडाबाबा मन्दिर, गोदावरी धाम, कञ्चनपुर जिल्लाको धार्मीक एवम् पर्यटक क्षेत्रमा समेत ट्रफीलाई पुगाइने छ । त्यसपछि पूर्वी नेपालतर्फ अगाडि बढ्नेछ । धनगढी एफसीका प्रतिनिधि तारा रोस्याराले शिवपुरी धाममा पूजा गरेर तेश्रो संस्करणको लागि ट्रफी टूर प्रारम्भ भएको बताउनुभयो । पहिलो र दोश्रो संस्करणमा उप–विजेता बनेको धनगढी एफसी यो संस्करणमा ट्रफी हात पार्ने विश्वास व्यक्त गर्नुभयो । शिवपुरी धामका मुल पुजारी हरी नारायण भट्टले धार्मीक परम्परा अनुसार पुजा गरेर ट्रफी टूरको शुभारम्भ गर्नुभयो । उहाँले ट्रफी धनगढीमा आउने शुभकामना दिनुभयो ।
सन् २०२१ मा स्थापना भएको एनएसएललाई एनएसइएमले अखिल नेपाल फुटबल संघ संघ (एन्फा)को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ । यसले क्षेत्रीय पहिचान प्रवद्र्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ।
नेपाल सुपर लिग एनएसएलको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ। देशभरका फुटबल प्रेमीहरूका लागि यो उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ जहाँ विभिन्न टिमहरू उपाधी जित्नको लागि प्रतिस्पर्धा गर्नेछन्।
यस संस्करणमा रोमाञ्चक प्रतिस्पर्धा, नयाँ प्रतिभाहरू र नेपाली फुटबलको वास्तविक स्वाद अनुभव गर्न पाइने आयोजकको विश्वास छ ।



